फेरि भेटियो कोरोनाको लक्षणसँग मिल्दोजुल्दो बिरामी
काठमाडौं – सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् ।
कोरोना संक्रमितमा जस्तो लक्षण बिरामीमा भेटिएपछि गाउँपालिकाले मंगलबार यसको पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।
पत्रमा सोमबारबाट यस्ता बिरामी भेटिएकाले यसको पहिचानमा छिट्टै सहयोग गरिदिन आग्रह गरिएको छ ।
सिन्धुपाल्चोक चीनसँग सीमा जोडिएको जिल्ला हो । यसअघि चीनबाट संक्रमण फैलन सक्ने भन्दै चीनसँग जोडिएको यहाँको तातोपानी नाका बन्द गरिएको थियो ।