सार्वजनिक शौचालय वडालाई हस्तान्तरण
काठमाडौं–एभरेष्ट बैंकले नयाँ बानेश्वरस्थित छक्कुपक्कु पार्कको आडमा निर्माण भएको सार्वजनिक शौचालय वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । पार्कमा बुधबार आयोजना गरिएको औपचारिक कार्यक्रममा बैङ्कका तर्फबाट शौचालयको साँचो वडा अध्यक्ष रामकुमार केसीलाई हस्तान्तरण गरिएको हो ।

व्यावसायिक सार्वजनिक उत्तरदायित्वअन्तर्गत बैङ्कले करिब २० लाख रुपैयाँ खर्च गरेर छक्कुपक्कु पार्कको मर्मत तथा सार्वजनिक शौचालय निर्माण गरेको हो । नवनिर्मित शौचालयमा पुरुषका लागि ४ वटा पिसाब फेर्ने युरिनल र १ वटा दिशा गर्ने ठाउँ, महिलाका लागि २ वटा र अपाङ्गता भएका व्यक्तिका लागि १ वटा छुट्टाछुट्टै ठाउँ छन् ।
शौचालयको साँचो बुझिसकेपछि कार्यक्रममा बोल्दै वडाध्यक्ष केसीले राजधानीको केन्द्रमा मानिस आउँदा शौचालय नभएर खेप्नु परेको सास्ती अब हट्ने बताए । ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बाहिर एउटा राम्रो शौचालय नहुँदा वडालाई पनि अप्ठ्यारो महसुस भएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत शौचालय प्राप्त भएको छ । अब यसलाई गुणस्तरीय ढङ्बाट सञ्चालन गर्छौँ’ वडाध्यक्षले थप्दै भने, ‘शौचालयबाट उत्पादन भएको मलमूत्रबाट बायोग्याँस उत्पादन गरिनेछ भने सरसफाइमा कुनै कमी हुनेछैन ।’
अपाङ्गता भएका व्यक्ति, पर्यटक र ज्येष्ठ नागरिकलाई शौचालय निःशुल्क हुनेछ । यसको दिगो व्यवस्थापनका लागि अन्य उपभोक्ताबाट सेवा शुल्क संकलन गरिनेछ । यसरी संकलन भएको रकम सरसफाइ र बायोग्याँस उत्पादनमा खर्च हुनेछ । वडाले यस कामका लागि एरोसान सन्टेनेबल स्यानिटेसनले सञ्चालन गरेको सरसफाइ सहकारी संस्थासँग सहकार्य अघि बढाएको छ ।
शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका नायव महाप्रबन्धक आशुतोष शर्माले, व्यवसायिक संस्थागत उत्तरदायित्वअन्तर्गत वडासँग थप सहकार्य हुने बताए । त्यस्तै संस्थागत उत्तरदायित्व समितिका सदस्य डा. गणेश गुरुङले निर्माण भएको शौचालय दिगो र गुणस्तरीय सेवा दिन सक्ने गरी सञ्चालन गरिनुपर्ने बताए । प्रमुख बजार व्यवस्थापक पुष्पराज उप्रेतीका अनुसार बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति क्षेत्रमा वातावरणमैत्री शवदाह क्षेत्र निर्माण गर्ने तयारी छ ।