उखु किसानहरुले अझै पैसा पाएन्न , भन्छन चैत ४ गतेदेखि काठमाडौंमा अनशन बस्छौं’

बुधबार, २९ माघ २०७६

काठमाडौँ- चिनी उद्योगीले पैसा नदिएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलित हुने भएका छन् । एक साता बढी आन्दोलन गरेपछि गत पुस १८ गते माघ ७ गतेभित्र बक्यौता उठाइदिन सरकार तयार भएको थियो । तर, तोकिएको मिति नाघ्दा पनि बक्यौता नपाएपछि आन्दोलन निर्विकल्प बनेको उखु किसान रामविलास महतो कोइरीले जानकारी दिए । “मेरै ५० हजार रुपैयाँ अन्नपूर्ण सुगर मिलले दिएको छैन । अरू किसानहरूको पनि दिएको छैन । हामी त काठमाडौं आउने तयारी गर्न लागेको,” उनले बाह्रखरीसँग भने ।
२०७० सालदेखिको बक्यौता नपाएकाले किसानहरूले यस वर्षको उखुसमेत काट्न नपाएको दुखेसो पोखे ।

“अघिल्ला वर्षको भुक्तानी नपाएकाले किसानहरूको उखु खेतमै सुकेर गएको छ । मैले पनि जसोतसो महालक्ष्मी सुगर मिललाई बुझाएँ । पैसा पाउने आश त छैन । बाध्यता छ, खेतमै कुहाउने कुरा आएन,” उनले भने ।

उनले सरकारले दिने भनेको अनुदान रकम पनि नपाएको गुनासो गरे । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ । मिलले किसानबाट प्रतिक्विन्टल ४ सय ३५ दिने सर्तमा उखु उठाएको थियो । सरकारले अनुदान दिने भनेको प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसासमेत चिनी उद्योगीले आफ्नै खल्तीमा राखेको महतोको दाबी छ ।

“आफूले तिर्नुपर्ने बक्यौता त दिएन, दिएन, सरकारको अनुदान पनि पाएका छैनौं । रकम नपाउँदा किसानहरू ऋणमा छन् । मैले पनि ऋणै काढेर मिलमा पु¥याएको छु । चार गाडी उखु अन्नपूर्ण सुगर मिललाई दिएको छु । पैसा नहुँदा बाँकी उखु काट्न पाएको छैन,” उनले भने ।

उनले सरकारले बक्यौता उठाउन ताकेता नगरिदिएको पनि गुनासो गरे ।“सरकारले सहमति त ग¥यो । तर पैसा उठाउन सहयोग गरेन । मिल मालिकले खातामा पैसा पठाइदिन्छन् भन्नुभएको थियो । खै कहाँ अड्कियो ?,” उनले प्रश्न गरे ।सर्लाहीको अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मीले २१ करोड रुपैयाँ बक्यौता थियो । त्यसमध्ये आधा पनि नतिरेको र किसानलाई मर्कामा पारेको महतो बताउँछन् । “हामीले होलीसम्मको समय दिएका छौं । त्यतिञ्जेल पर्खन्छौं । पैसा पाएनौं भने चैत ४ गते काठमाडौं आउँछौं । पैसा नपाएसम्म अनशन बस्छौं,” उनले भने ।