कोरोनाको आशंका गरिएका एक जना टेकु अस्पतालबाट भागे, थप तीन जना अस्पताल भर्ना
काठमाडौँ -कोरोना भाइरसको आशंकामा तीन जनालाई अस्पताल भर्ना गरिएको छ । चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई कोरोनाको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उनीहरूलाई आज टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । उनीहरु तीन जनामा कोरोना भाइरस छ वा छैन भनेर टेकुकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको परीक्षणका लागि नमुना पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको आशंकामा २० जनामाथि कोरोना भाइरसको परीक्षण गरिएको र ती मध्य एकजनामा पोजेटिभ देखिएको बताए । कोरोना पोजेटिभ देखिएका ती व्यक्तिको पनि पछिल्लो पटक भएको परिक्षणमा कोरोना नेगेटिभ देखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
कोरोनाको आशंका गरिएका बिरामी अस्पतालबाटै भागे यसैबीच कोरोना भाइरसको आशंका गरिएका एक साउदी अरेबियाका नागरिक टेकु अस्पतालबाट भागेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले कोरोना भाइरसको आशंका गरिएका अरेबियन नागरिक अस्पतालबाटै भागेको स्वीकार गरे । उनको खोजी भइरहेको श्रेष्ठले जानकारी दिए ।