निर्माणाधीन दुईवटा जलविद्युत् आयोजनाको काम ठप्प
काठमाडौं– चीनमा फैलिएको कोरोना भाइरसका कारणले चिनियाँ कामदार नेपाल आउन नसक्दा नेपालका दुईवटा जलविद्युत् आयोजनाको काम ठप्प भएको छ।
कोरना भाइरसकै कारण दोलखा र रामेछापको सीमामा निर्माणाधीन ४८.८ मेगावाटको खिम्ती–२ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङखोला हाइड्रोपावरको काम रोकिएको हो । गत जनवरी २३ मा चिनियाँ नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार चीनमा कोराना भाइरस महामारीकै रुपमा फैलिएसँगै नेपाल आउन नसकेका हुन् । खिम्ती–२ पिपुल्स इनर्जी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको छ । दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चोङचिङ वाटर टर्बाइन वक्र्स (सिडब्लु टिडब्लु) ले लिएको थियो ।
चिनियाँ कामदार नेपाल आउन नसक्दा आयोजनाको काम ठप्प भएको हो । पिपुल्स इनर्जी लिमिटेडका जनरल म्यानेजर जनार्दन अर्यालले चीनमा कोरना भाइरसको संक्रमण फैलिएसँगै नयाँ वर्ष मनाउन चीन गएका कामदार फिर्ता हुन नपाएको बताए । ‘गत जनवरी २३ तारिखमा चिनियाँ नयाँ वर्ष मनाउन गएका थिए,’ उनले भने, ‘सोहीबीचमा चिनियाँ कोरना भाइरसको संक्रमण फैलिएसँगै कामदार आउन नपाएका हुन् ।’
उनका अनुसार चिनियाँ कामदार गत फ्रेबुअरी ३ तारिखमा नेपाल आउने तालिका थियो । तर, भाइरस संक्रमणकै कारणले अहिलेसम्म आउन सकेका छैनन् । जनरल म्यानेजर अर्यालले सुपरभाइरजमाथिका सम्पूर्ण कामको जिम्मेवारी चिनियाँ कामदारको भएकाले पनि निर्माण ठप्प भएको बताए । उक्त आयोजना इपिसी मोडलमा निर्माण गर्न लागिएको हो । यस समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।