प्रेरक प्रसंगः आमाले नै छोरालाई चोर बनाएपछि….
काठमाडौं–एकजना बालक सधैं पाठशाला जाने गथ्र्यो । एकदिन उसले साथीको पुस्तक चोरेर ल्याएछ । उसकी आमाले त्यो किताब बेचेर आँप खाऊ भनेर सिकाइन् । यस्तै अलिअलि गर्दागर्दै ऊ ठूलै चोर बनेछ र पछि चोरको सरदार नै बन्यो । त्यो चोर राजदरबारमा चोरी गर्दागर्दै पक्राऊ परेछ ।
राजाले उसलाई फाँसीको सजाय सुनाए । उसलाई फाँसी दिने बेलामा देशका धेरै मान्छे उसलाई हेर्न आए । त्यो चोरको आमा पनि आइकी थिइन् । फाँसी दिने बेलामा सिपाहीले उसको अन्तिम इच्छा सोधे । उसले आफ्नी आमासँग भेट्ने इच्छा जाहेर गर्यो । यो सुनेर उसकी आमा त्यहाँ गइन् । चोरले आमासाग कुरा गर्ने समय माग्यो ।
उसले आमालाई कान नजिकै ल्याउनु केही भन्छु भन्यो र आमाको कान टोकीदियो । आमा दुखाइमा रुन थालिन् । आएका सबैजनाले उसलाई आमाको कान पनि टोक्ने हो, भन्दै गाली गर्न थाले ।
चोरले सबैलाई हेर्दै भन्यो– “आज तपाईहरु सबै मलाई गाली गर्दै हुनुहुन्छ । मलाई धिक्कार्दै हुनुहुन्छ । तर सानोमा यिनै आमाले चोरी नसिकाएकी भए आज म यसरी फाँसीमा झुण्डिनु पर्ने नै थिएन ।”