याद गर्नुहोस् भिसामा उल्लेख गरेको भन्दा फरक काम गर्नेलाई पुनः श्रम स्वीकृति नदिइने
काठमाडौँ- वैदेशिक रोजगारबाट बिदामा नेपाल फर्केका कामदारले पुनः श्रम स्वीकृति लिन आफ्नो पेसा बमोजिमको कागजात खुलाउनुपर्ने भएको छ। अब वैदेशिक रोजगार विभागले भिसामा उल्लेख भएको पेसाभन्दा फरक काम गरिरहेका नेपाली कामदारलाई पुनः श्रम स्वीकृति नदिने भएको छ।
विभागले किन ल्यायो यस्तो नियम
नेपालबाट एउटा काम, तलब र कम्पनी भनेर पठाउने तर पुगेपछि भनेको तलब नदिने, फरक काममा लगाउने वा अर्कै कम्पनीमा पठाउने जस्ता उजुरी बढ्न थालेपछि यसलाई नियन्त्रणमा ल्याउन विभागले यो नियम ल्याएको हो। रोजगारदाताले भिसामा उल्लेख पेसारपद अनुसार काम नदिँदा नेपाली कामदारले स्थानीय कानुन अनुसार पाउने सेवा(सुविधा गुमाइरहेको भन्दै विभागले कडाइ गरेको हो।
ऐनले यो सम्बन्धमा के कस्ता कुरा समेटेको छ ?
वैदेशिक रोजगार ऐनको दफा १४ र १९ मा स्पष्ट काम, तलब, कम्पनी लगायत विवरण पूर्व स्वीकृति र अन्तिम स्वीकृतिमा एउटै हुनुपर्ने कुरा उल्लेख छ। साथसाथै दफा ५५ मा एउटा कम्पनी भनेर अर्को कम्पनी, एउटा काम भनेर अर्कोमा पठाउने म्यानपावरलाई कडा दण्डको व्यवस्था गरिएको छ।
यही नियमलाई विभागले कडाइपूर्वक लागू गरेको हो।यसबारे खाडी मुलुक साथै मलेसियामा भएका नेपाली दूतावासलाई विभागले जानकारी दिइसकेको छ। सो जानकारी अनुसार बहराइन, कतार, साउदी अरेबिया र ओमान स्थित नेपाली राजदूतावासले यस सम्बन्धमा सूचना निकाली सकेका छन्।