अन्ततः रामेश्वर बने प्रदेशमन्त्री शपथ आजै हुने
काठमाडौँ -अन्ततः रामेश्वर फुयाल वाग्मती प्रदेशको भौतिक योजना तथा विकास मन्त्री बनेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले केही दिनअघि नै निर्णय गरिसकेको भए पनि नेकपा प्रदेश कमिटीले रोकेको थियो ।प्रदेश इन्चार्ज तथा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले ‘मुख्यमन्त्रीको एकलौटी नचल्ने’ भन्दै रोक लगाएपछि शपथ ग्रहण हुन सकेको थिएन । सोमबार साँझ शपथ ग्रहणको तयारी रहेको फुयालले नै जानकारी दिए ।
“शपथका लागि बोलाओट भएको छ । जाँदै छु,” सत्तारूढ नेकपाका वाग्मती प्रदेश मुख्य सचेतक नवनियुक्त मन्त्री फुयालले बाह्रखरीसँग भने ।
२०७५ कात्तिक १६ गते मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा विकासमन्त्री केशव स्थापितलाई बर्खास्त गरेका थिए । उनलाई पदअनुकूलको आचरण नदेखाएको बताइएको थियो । त्यसयता भौतिक योजना तथा विकासमन्त्रालयको कामकाज मुख्यमन्त्री आफैंले गर्दै आएका थिए ।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका फुयाल काठमाडौैं ३ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् । एमालेको आठौं महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित फुयाल नवौं महाधिवेशनमा भने केन्द्रीय कमिटीमा पराजित भएका थिए । फुयाल पार्टी एकीकरणपछिको केन्द्रीय कमिटीमा मनोनित भएका हुन् ।प्रदेश राजधानी हेटौंडालाई नै कायम गर्न लागिपरेका फुयाल दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं ३ बाट निर्वाचित थिए ।