कोरोना भाइरसले अस्पतालका निर्देशकै लग्यो ज्यान
काठमाण्डौ – चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस ९कोभिड–१९० का कारण ज्यान गएको छ । वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा निधन भएको हो । उनी कोरोनाका कारण ज्यान गुमाउने दोस्रो डाक्टर तथा अस्पतालका पहिलो निर्देशक भएका छन् । वुचाङ्ग अस्पताल कोरोना भाइरस सङ्क्रमितहरुको उपचार गर्न रेफर गरिने वुहान राज्यको प्रतिष्ठित अस्पताल हो । यसअघि चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको थियो ।
उनीमाथि कारबाही पनि गरिएको थियो । चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । सोमबारसम्म एक हजार आठ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ । सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएको हो । एक हजार आठ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ । कोरोनाका कारण चीनबाहिर चार जनाको ज्यान गइसकेको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एकरएक जनाको ज्यान गएको छ ।
बेइजिङमा रहेको वित्तीय र समाचार मिडिया सङ्गठन, केग्सनले कोरोनाका कारण तीन हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएको बताएको छ । यो सङ्ख्या चीन सरकारले दाबी गरेको भन्दा झण्डै दोब्बरले बढी हो ।