महराले सुनाए स्पष्टीकरण दिनेक्रममा कथा

बुधबार, ७ फाल्गुन २०७६

काठमाडौं–पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिनेक्रममा एउटा कथा सुनाए ।

मंगलबार एक टेलिभिजन च्यानलसँग गरेको संक्षिप्त कुराकानीको क्रममा उनले उक्त कथा सुनाएका हुन् । कथामा एउटा बाज हुन्छ, एउटा काग हुन्छ र एक टुक्रा हड्डी पनि । कागले हड्डी च्यापिरहेको देखेर बाजले कागमाथि आक्रमण गर्छ । आक्रमणलाई त्यतिबेलासम्म निरन्तरता दिन्छ, जतिबेलासम्म कागले हड्डी छाड्दैन । जब कागबाट हड्डी छुट्छ, तब बाजले कागमाथिको आक्रमण छाड्छ र हड्डीतिर लाग्छ ।

यो कथा सुनाएपछि उनले आफूले हड्डी पनि नच्यापेको र कसैलाई यस्तो भ्रम भएको प्रष्टीकरण दिए । महराले बिम्बात्मक ढंगले प्रस्तुत गरेको हड्डी भनेको एमसीसी हो भनेर बुझ्न सकिन्छ ।

अन्तरवार्ताको क्रममा उनले आफूले कुनै गल्ती नगरेको र यो कुरालाई अदालतको फैसलाले पनि पुष्टि गरिसकेको दावी गरे । अदालतले जे फैसला सुनायो, त्यही नै सही भएको उनको जिकिर थियो ।

उनले कथा सुनाएसँगै स्पष्टसँग भने, ‘मैले कुनै गल्ती गर्‍या छैन । कुनै अपराध गर्‍या छैन ।’

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा आफूले ‘टेबुल’ गर्न अनुमति नदिएको उनले दोहोर्‍याए । प्रधानमन्त्री केपी ओलीले ‘महराले एमसीसी संसदमा टेबुल नगरेर गल्ती गरेको’ भन्दै दिएको अभिव्यक्ति पनि उनले स्मरण गराए ।

नेकपाको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीले महराले नै एमसीसी परियोजनाबारे कुराकानी सुरु गरेको प्रमाण पेश गरेका थिए । यो कुरा महराले ढाँटेनन् । उनले भने, ‘एमसीसी टेबुल गर्नको निमित्त अनुमति नदिएको मैले हो । त्यो साँचो कुरा हो । एमसीसी मैले नै उठान गरेको हो । तर, एमसीसीको विषयमा सबैभन्दा बढी जानकार मै नै छु,’उनले भने,’टेबुल गर्न केही समय वेट गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । अनुमोदन नै गर्नुहुन्न भन्ने होइन । एमसीसीको विषयमा एक ढंगले हल गर्नुपर्छ भन्ने मैले सोचिराखेको थिएँ ।’

उनले एमसीसी संसदबाट अनुमोदन नै गर्नहुन्न भन्ने पक्षमा आफू नरहेको स्पष्ट पार्न खोजे । उनले आफू सहमतिको मानिस भएकोले सहमतिबाटै हल खोज्न चाहेको स्मरण गराए । उनको निष्कर्ष थियो, ‘म जेल पर्नुमा कारण त धेरै होलान्, त्यो पनि एउटा कारण हो । त्यो त प्रधानमन्त्रीजीले पनि भन्नुभाँछ ।’

अन्तर्वार्तामा उनले सांकेतिकरुपमा केपी ओलीलाई बाजको रुपमा चित्रण गर्न खोजेका छन् भने एमसीसीलाई हड्डीको रुपमा । आफूलाई कागको भूमिकामा प्रस्तुत गरेका महराले एमसीसीकै कारण जेल जानु परेको पुष्टि गर्न खोजे ।

ओलीले अग्नि सापकोटा नयाँ सभामुख भएपछि बधाई दिनेक्रममा एमसीसी पास गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

महराले अन्तर्वार्ताको क्रममा आफूले घटनाबारे धेरै रहस्यहरु पछि खोल्दै जाने बताएका छन् । त्यो ‘पछि’ कहिले हो र रहस्य कसरी खुल्दै जान्छ ? यसको जवाफको लागि भने केही समय कुर्नु पर्ने हुन्छ ।