विप्लप समूहका जनपरिषद् प्रमुख पक्राउ
काठमाडौँ -सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको (नेकपा)को म्याग्दी जिल्ला जनपरिषद् प्रमुख जगेन्द्रबहादुर पुन (जगत)लाई प्रहरीले पक्राउ गरेको छ ।मालिका गाउँपालिका–३ अदिभाराका ५६ वर्षीय पुनलाई ईलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले शुक्रबार साझ अदिभाराबाट पक्राउ गरेको हो ।
म्याग्दी जिल्लामा एनसेल टावरमा आगजनी, स्थानीय तहका जनप्रतिनिधिलाई जबरजस्ती चन्दा माग गरी आतङ्कित बनाएको, कालोमोसो दली अभद्र व्यवहार गरेको, निर्माण व्यवसायीका उपकरणमा आगजनी गर्ने कार्यमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।पुनलाई अनुसन्धानका लागि बेनीमा ल्याइएको छ । उनलाई गत वर्ष पनि प्रहरीले पक्राउ गरेको थियो । अदालतको आदेशपछि उनी रिहा भएका थिए ।