सानेपा हत्या प्रकरण :विजयको मोबाइलमा के–के भेटियो ?
काठमाडौँ -ललितपुरको सानेपामा गत माघ २७ गते पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको हत्या र सोही घरमा काम गर्ने विजय चौधरीको आत्महत्याबारे प्रहरीले अनुसन्धान जारी राखे पनि अझै रहस्य पत्ता लगाउन सकेको छैन ।महानगरीय प्रहरी परिसर ललितपुरले घटनालगत्तै मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि पठाएको थियो । प्रहरीले मुना र चौधरी दुवैको मोबाइलको रिपोर्ट बुझिसकेको छ । मुना र कामदार चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लू’ नभेटिएको परिसरका एसएसपी टेकप्रसाद राईले बताए । उनले भने, ‘फरेन्सिक रिपोर्टमा चौधरीले अपराध गर्नुपर्ने कुनै स्पष्ट कारण देखिएको छैन ।
’चौधरीको व्यवहार हिंसात्मक रहेको कुनै लक्षण मोबाइलबाट फेला नपरेको बताउँदै एसएसपी राईले भने, ‘रिपोर्टलाई अझै विभिन्न कोणबाट हेरेर थप विश्लेषण गर्छौं ।’चौधरीले प्रयोग गर्ने मोबाइलमा थुप्रै फोटो फेला परेको प्रहरीले जनाएको छ । कुकुरसँग खेलेको, अर्जुन कार्कीको छोरासँग रमाएको र विभिन्न ठाउँ घुम्न जाँदाखेरी खिचेका फोटाहरु चौधरीको मोबाइलमा रहेको परिसरकी एसपी दुर्गा सिंहले बताइन् ।
चौधरीको मोबाइलमा अश्लील खालका र हिंसामा सघाउ पुर्याउने खालका केही पनि सामग्री फेला नपरेको एसपी सिंहले बताइन् । चौधरीले मोबाइलमा डिलिट गरिएका सामग्री ‘रिकभर’ गरेर हेर्दा त्यसमा समेत कुनै शंकास्पद विषय फेला नपरेको प्रहरीको दावी छ ।