अब पर्वतमै मानिसक रोगको उपचार
काठमाडौँ -कुनै समय रिफर सेन्टरको उपमा पाएको पर्वतको एक मात्र सरकारी अस्पतालको उपचार सुविधा विस्तार गर्न थालेको छ। पर्वत जिल्ला अस्पतालमा एकपछि अर्को गर्दै गुणस्तरीय स्वास्थ्य उपचार सेवा थपिँदै गएको छ। यसैबीच अस्पतालले मानसिक रोगको उपचार सेवा पनि सुुरु गरेको छ पर्वत अस्पतालमा बुधबारदेखि मानसिक रोगको समेत उपचार हुन थालेको हो। पोखरामा रहेको गण्डकी मेडिकल कलेज पोखरा र पर्वत जिल्ला अस्पतालबीच मानिसक रोगको सेवा सुरु गर्ने द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्दै अस्पतालमा मानसिक रोगको विशेषज्ञ सेवासहितको उपचार सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिएका छन्।एक वर्षयता अस्पतालमा बच्चाहरुका लागि एनआईसीयू, दन्त सेवा, डायलासिस सेवा, अत्याधुनिक एक्सरे मेसिन, शल्यक्रियामार्फत् सुत्केरी गराउने सेवा सुरु भएको छ। ०४६ सालदेखि १५ शड्ढया क्षमतामा सञ्चालित अस्पताल आगामी आर्थिक वर्षदेखि ५० शड्ढयामा स्तरोन्नति हुन लागेको छ। अहिले भौतिक पूर्वाधार निर्माणको काम चलिरहेको छ।
पछिल्लो समय प्रदेश र संघीय सरकारको प्राथमिकतामा अस्पताल पर्न थालेको छ।मानिसक रोगको समस्या भएका बिरामीहरुले स्वास्थ्य परीक्षण गर्दा हजारौं रुपैंयाँ खर्चेर पोखरा, काठमाडौं लगायतका जिल्लामा जानुपर्ने बाध्यताको अन्त्य भएको छ। अब त्यस्ता खालका बिरामीहरुले २० रुपैयाँमै स्वास्थ्य परीक्षण सुविधा पाउने भएका छन्। हालसम्म पर्वतलगायत साबिक धौलागिरि अञ्चलमा मानसिक रोगका बिरामीहरुको उपचार सेवा संचालन हुन सकेको थिएन। यो क्षेत्रवाट पनि पोखरामा थुप्रै मानिसक रोगका बिरामीहरु उपचारका लागि जाने गरेको अवस्थालाई मध्यनजर गर्दै दुई अस्पताल बीच मानसिक रोगको सेवा सुचारु गर्न प्रारम्भिक चरणको सम्झौतामा हस्ताक्षर भएको हो। जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरीन्टेन्डेन्ट डाक्टर शिशिर देवकोटा, अस्पताका अध्यक्ष गोविन्द पहाडी र गण्डकी मेडिकल कलेजका प्राचार्य प्रोफेसर डाक्टर रवीन्द्रप्रसाद श्रेष्ठ सँगै गण्डकी मेडिकल कलेजका प्रोफेसर डाक्टर टुमाया घलेले हस्ताक्षर गरेका छन्।पर्वत अस्पतालले संचालन गर्ने मानसिक रोग उपचारका लागि गण्डकी मेडिकल तर्फबाट १ जना विशेषज्ञ डाक्टर सहित प्रत्येक महिनाको १० गते, २० गते र महिनाको अन्तिम दिन सेवा संचालन गरिने भएको छ। दर्ता शुल्कका लागि २० रुपैंयाँ शुल्क राखिएको छ। जहाँकी पोखरा जाने बिरामीहरुले डाक्टरसँग उपचार सेवा लिन ५ देखि ८ सय रुपैया सम्म खर्चिनुपर्ने, कुश्मादेखि हजारौ खर्चेर आउजाउँ गर्नुपर्ने बाध्यता रहेको थियो अब त्यस्तो अवस्थाको अन्त्य भएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।