मी श्राले सिकाउँछन् प्याड बनाउन

आइतबार, ११ फाल्गुन २०७६

काठमाडौं–जनकपुर हरेक महिनाको चार दिन महिलाहरूको लागि विशेष हुन्छ। कसै–कसैले ६ दिनसम्म पनि भोग्छन्। त्यो हो महिनावारी हुँदाको अवस्था। महिनावारीलाई समाजमा छुवाछुत, वा लाजको विषय पनि बनाउँछन्। यही कारण छोरीहरू यस अवधिमा न राम्ररी विद्यालयमा पढ्न भ्याउँछन् न दैनिक दिनचर्यामा रमाउन नै।

लाज धाककै कारण महिनावारी स्वच्छताको कुरा घरमासमेत गर्न गाहे हुन्छ। तर, मधेसका प्याड लिडर महिलाहरू अब गाउँरगाउँमा महिनावारी स्वच्छता अभियान सञ्चालनमा लागि परेका छन्। २०७४ फागुन महिनादेखि सिमित समूहको प्रयासले सुरु भएको ‘प्याड बैंक’ अभियानबाट अहिले ३ हजार महिलाहरू तालिम प्राप्त बनेका छन्।

महिनावारी स्वच्छता र महिलाहरूमा पाठेघर खस्ने समस्यालाई निराकरण गर्न महोत्तरीकी प्रोमिशा मि श्रा, सृनु झा, स्मृती झा, सिरहाकी गुन्जा मण्डल र सर्लाहीकी स्नेहा झालगायतका युवतीहरूको समूहले ‘प्याड बैंक’ अभियान थालेका हुन्।

जतिसुकै पढेलेखेका महिला भए पनि महिनावारी चक्रसँग सबै जुध्नुपर्ने हुँदा ग्रामीण क्षेत्रका महिलाहरूमा चेतना जगाउन अभियान तहत कार्यक्रमहरू गरिएको प्याड बैंक सञ्चालक प्रोमिशा मि श्रा बताउँछिन्। ‘यो समस्या खुलेर चर्चा नहुने र स्वच्छताको ख्याल नगर्दा दिर्घकालीन रोगहरू निम्तिन्छन्,’ मि श्राले भनिन्, ‘हामी महिनावारीको विषयमा निर्धक्क भइ लाज नमान्दै समाजमा छोरीहरूले बोल्न सकुन् भनेर प्रयासरत छौं।’

मधेसमा महिलाहरूमाझ महिनावारीको कुरा गर्दा उनीहरूले निकै असहज अनुभव गर्छन्। महिलाले नै महिलाको पीडा न्यूनीकरणमा भूमिका खेल्न सक्ने प्रोमिशाको विश्वास छ। प्याड बैंक सञ्चालक समूहमा हाल १५ जना सहजकर्ता छन्। यी सहजकर्ताहरूले गाउँ÷गाउँमा पुगेर किशोरी र महिलाहरूलाई महिनावारी स्वच्छताका विषयमा जनचेतना दिने र घरमै सेनेटरी प्याड निर्माण गर्न तालिम दिन्छन्।

प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा र पर्सा गरी सात जिल्ला र काठमाडौं, काभ्रे, सिन्धुपालचोक तथा ललितपुरमासमेत प्याड बैंकका सहजकर्ताहरूले किशोरीहरूलाई घरेलु प्याड निर्माणको तालिम दिइसकेका छन्। यसका साथै महोत्तरीको जलेश्वर कारागारमा कैदी जीवन बिताइरहेका महिलाहरूलाई पनि प्याड बैंकले सुरक्षित महिनावारी र प्याड बनाउने तालिम दिएको छ।

‘हामीले बनाउने प्याड पुनः प्रयोग गर्न मिल्ने हुन्छ, सहजकर्ता रचना झाले भनिन्, ‘फलाटिनको कपडा, सुति कपडा, सुइ, धाँगो र बटनको प्रयोग गरी प्याड घरमै बनाउन सकिन्छ। यी प्याडहरू राम्ररी प्रयोग गरियो भने वर्ष दिनसम्म पनि टिकाउ हुन्छ।’ बजार पाइने तयारी प्याड प्रयोगपछि व्यवस्थापन गर्न नजान्दा जथाभावि फाल्ने समस्या बनेको मि श्रा बताउँछिन्। प्याड बैंकले पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन सिकाएर डिस्पोजलको तरिका पनि सिकाउने गरेको छ।

आधिकारिक रूपमा कुनै निकायमा दर्ता नभए पनि ‘प्याड बैंक’ अभियानले निःशुल्क रूपमा गर्ने जनचेतना प्रभावकारी हुँदै गएको छ। अभियानलाई थप प्रभावकारी बनाउन दश जना महिलाहरूलाई प्रशिक्षक तालिम दिन विज्ञापनसमेत आह्वान गरिएको समूह सञ्चालक बताउँछन्।