आठराई शाखाको उद्घाटन गरे प्रधानमन्त्री ओलीले

मंगलबार, १३ फाल्गुन २०७६

काठमाडौं – नेपाल बैंक लिमिटेडको आठराई शाखा सञ्चालनमा आएको छ । सो शाखाको प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट अपरेटिङ सिस्टम कनेक्ट गरी उद्घाटन गरेका हुन् ।

शाखामा सबै बैंकिरू कारोबार सुचारु भएको छ । शाखाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बैंकको १७७ औं शाखाका रूपमा पुनःस्थापित आठराई शाखाले यस क्षेत्रमा बैंकिङ कारोबारमार्फत आर्थिक विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । शाखा उद्घाटनपश्चात् नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले अन्य प्रतिस्पर्धी बैंकको तुलनामा नेपाल बैंकमा कर्जामा कम व्याजदर हुनुका साथै निक्षेपको सुरक्षण र सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउँदै आएको बताए ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले आमनागरिकमा बैंकिङ पहुँच पुर्‍याउने लक्ष्यअनुरूप देशका विभिन्न स्थानमा विगतमा बन्द भएका शाखाको पुनःस्थापना तथा नयाँ शाखा कार्यालय स्थापना गर्दै बैंकिङ कारोबार गर्दै सबै नेपालीलाई बैंकिङ पहुँच पुर्‍याउने अभियानमा बैंक रहेकोमा जोड दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कुष्णबहादुर अधिकारीले व्यावसायिक सभ्याव्यताका आधारमा विभिन्न कर्जा सुविधा तथा निक्षेप योजना ल्याई सबैसँग व्यावसायिक साझेदारीका रूपमा बैंक अगाडि बढेको बताए । बजारको मागअनुरूपका नयाँनयाँ कार्यक्रमका साथ अत्यधुनिक बैंकिङ सेवा सुविधासहित बैंकले आफ्ना सबै सेवाग्राहीलाई सन्तुष्टि प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । आठराई उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमप्रसाद पौडेलले नेपाल बैंकको पुनःस्थापनाले स्थानीय उद्यमी व्यावसायीमा खुसीको लहर आएको बताउँदै बचत गर्ने संस्कृतिको विकास गर्न र परिश्रमी एवं उद्यमी बन्न बैंक सहयोगी हुने विश्वास गरे ।

कार्यक्रममा बैंकको प्रादेशिक कार्यालय प्रमुख उज्वलराज गौतमले स्वागत गरेका थिए । आठराई शाखाका शाखा प्रबन्धक शेखर न्यौपानेको टिमले बैंकिङ सेवा सुचारु गरिरहेको छ । बैंकको ८३ वर्षको इतिहास रहेको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत सेयर रहेको छ । बैंकले देशको ६३ जिल्लामा रहेका १७७ वटा शाखा, २६ एक्स्टेन्सन काउन्टर तथा ११९ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ । आगामी आबभित्र सबै जिल्लामा शाखा सञ्जाल पुर्‍याउने लक्ष्यका साथ कार्यअगाडि बढाइरहेको बैंकका प्रवक्त अधिकारीले बताए ।