ओलीलाई भेट्न बालुवाटार पुगे माधव नेपाल
काठमाडौँ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले गरेको उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यलाई सिफारिस गर्न अनुरोध गर्ने निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएपछि पार्टीमा हलचल मच्चिएको छ ।बुधवार बसेको सचिवालय बैठकमा सर्वसम्मत रुपमा वामदेवको नाममा सहमति जुटेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई बताएका थिए । तर लगत्तै ओलीले सचिवालयका केही सदस्यलाई फोन गरेर आफूले वामदेवलाई सिफारिस नगरी डा युवराज खतिवडालाई नै सिफारिस गर्ने चेतावनी दिएका थिए ।स्रोतका अनुसार ओलीले बैठक सकिएपछि पहिलो फोन वरिष्ठ नेता माधवकुमार नेपाललाई गरेका थिए । फोनमा उनले राष्ट्रियसभामा युवराजकै नाम पठाउने, वामदेवलाई पठाउन नसकिने र सबै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएका थिए ।
ओलीको चेतावनी सुनेपछि नेता नेपाल बालुवाटार पुगेका छन् । दुवै नेताबीच पार्टीको विवाद समाधान गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । सचिवालय बैठकपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने निजी निवास खुमलटारमै रहेका छन् ।