नक्कली लाइसेन्सको कारोबार गर्ने पक्राउ

बिहिबार, १५ फाल्गुन २०७६

काठमाडौँ -नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा धनुषाबाट १ व्यक्ति पक्राउ परेकी छन् ।जनकपुरधाम उप–महानगरपालिका–९ कि रूवि मिश्रलाई प्रहरीले नक्कली लाइसेन्सको कारोबारमा संलग्नको आरोपमा पक्राउ गरेको हो ।पक्राउ परेकी मिश्रले आफ्ना छोरा चन्दनलाई प्रयोग गरी व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स बनाइदिने गरेको प्रहरीले जनाएको छ ।महोत्तरीको गौलाशा नगरपालिका १२ बस्ने नारायण भनिने कृष्णदेव कुसवाहा गत माघ २९ गते प्रहरी चेकिङ्गमा परी आफ्नो लाइसेन्स देखाउँदा उनको लाइसेन्स नक्कली भएको फेला परेको थियो । त्यस क्रममा कुसवाहाले आफूसँग ५ हजार रकम लिएर चन्दनले नक्कली लाइसेन्स दिएको प्रहरीसमक्ष बताएका थिए ।

कुसवाहाले चार जनासँग मिश्रले रु ६० हजारका दरले रकम लिएको बयान दिएपछि उनलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । कार्कीका अनुसार, धनुषा जिल्ला अदालतबाट चार दिनको म्याद लिई मिश्रविरुद्व थप अनुसन्धान शुरु गरिएको छ ।

मिश्रविरुद्व अन्य उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।