शक्तिको आडमा विश्वविद्यालयका कर्मचारीहरू शैक्षिक सम्पत्तिको दुरूपयोग गर्दै
काठमाडौं–विद्यार्थीलाई नियम–कानुन सिकाएर सही बाटो देखाउने शिक्षक–कर्मचारीहरू नै व्यक्तिगत तथा राजनीति शक्तिको आडमा आफू कार्यरत शैक्षिक संस्थाको सम्पत्ति दुरूपयोगमा लामो समयदेखि संलग्न हुनु आश्चर्य र विडम्बनायुक्त सन्दर्भ हो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूबाट एक दशकअघिदेखि यस्तै अपत्यारिलो काम भइरहेको छ । उनीहरू राजनीतिक तथा व्यक्तिगत बल प्रयोग गरी विश्वविद्यालयका ३० वटा आवास–गृह कब्जा गरेर बसिरहेका छन् ।
तर विश्वविद्यालय प्रशासन भने मुकदर्शक बन्दै आएको छ । राजनीतिक दलको दबाबका कारण विश्वविद्यालयका पदाधिकारीहरू लाचार देखिन्छन्, त्यस्ता शिक्षक–कर्मचारीलाई कारबाही नगरी बसेका छन् ।
समाजशास्त्रका प्राध्यापक उमेश आचार्य अवकाश भएपछि त्रिवि आवास–गृहको २५ नम्बर क्वाटर खाली भयो। सूचना प्राप्त भएपछि त्रिवि प्रिन्सिपल कार्यालय उक्त घरमा ताला लगाएर नयाँ योग्य शिक्षक कर्मचारी प्रवेशका लागि निवेदन माग गर्ने तयारीमा जुट्यो ।
तर अर्कोतर्फ विश्वविद्यालयका शिक्षक, कर्मचारी तथा विभिन्न विद्यार्थी संगठनले सो क्वाटरमा फरक–फरक चारवटा ताला झुण्ड्याए । ताला फरक भए पनि तालाबन्दी गर्ने समूहको माग भने साझा थियो, सो क्वाटरमा प्रक्रिया पुर्याएर नियमसंगत र योग्य शिक्षक–कर्मचारी प्रवेश ।
तर तालाबन्दीपछि ती समूहको भनाइ एउटा, व्यवहार अर्कै भयो। क्वाटर कब्जा गर्ने चलखेल सुरु भयो । विश्वविद्यालयमा विभिन्न राजनीतिक दलको शक्ति र आफ्नो व्यक्तिगत बल प्रयोग गरी उक्त आवास–गृहमा बलजफ्ती कब्जामा लिन त्रिविका शिक्षक–कर्मचारीबीच तँछाडमछाड नै चल्यो ।
अन्ततः २०७६ मंसिर १५ गते विश्वविद्यालयको आवास–गृह नम्बर २५ मा प्रिन्सिपल कार्यालय तथा विभिन्न समूहले लगाएको पाँचवटा ताला फुटाएर राति १२ बजे त्रिवि केन्द्रीय कार्यालयको स्वास्थ्य केन्द्रमा कार्यरत वरिष्ठ अहेब शैलेन्द्रकुमार देवले बल र राजनीतिक–शक्ति प्रयोग गरेर पाँचवटै ताला फोड्न सफल भए र आवास–गृह अनियमित तरिकाले कब्जा गरे ।
प्रिन्सिपल कार्यालय रमिते मात्र बनेर हेरिबस्यो । त्रिवि प्रिन्सिपल कार्यालयका अनुसार यसरी बल प्रयोग गरी अनियमित तरिकाले प्रवेश गर्नेमा शैलेन्द्र देव मात्र होइनन्, विश्वविद्यालयका उनीजस्ता ३० जना राजनीतिक शक्ति र बल प्रयोग गरेर आवास–गृह कब्जा गरी बसेका छन् ।
आवास–गृहमा विगत लामो समयदेखि अनियमित तरिकाले शिक्षक–कर्मचारीहरू बस्दै आए पनि प्रिन्सिपल कार्यालयले केही गर्न सकेको छैन । उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारहरू मुकदर्शक बनेका छन् ।
एउटाले क्वाटर छाडेको कुरा थाहा पाउनसाथ प्रिन्सिपल कार्यालयले भन्दा पहिले नै शक्तिको आडमा प्रवेश गर्नेहरूको तँछाडमछाड हुन्छ । यति मात्र होइन रक्सीको मातमा मुन्द्रेहरू लगाएर डरत्रासको वातावरणसमेत सिर्जना गर्न त्रिविका शिक्षक÷कर्मचारीबीच होडबाजी चल्ने गरेको त्रिविकै शिक्षकहरू बताउँछन् ।
प्रिन्सिपल कृष्ण आचार्य आचार्यले त्रिवि प्राज्ञिक थलो भए पनि शिक्षक–कर्मचारीले नै बल प्रयोग गरेर विश्वविद्यालयभित्र गैरकानुनी रूपमा आवास–गृह कब्जा गर्नु अशोभनीय काम भएको बताए । उनले विगत तीन वर्षदेखि नियमपूर्वक आवास–गृहमा मापदन्ड पुगेका व्यक्तिलाई प्रवेश गराउन नसकेको लाचारी ब्यक्त गरेका छन् । उक्त समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।