मापदण्डअनुसार लेन सडक निर्माण हुने

शनिबार, १७ फाल्गुन २०७६

काठमाडौं–निर्माणधीन विराटनगरको रानीदेखि धरानसम्मको ६ लेन सडकको चौडा कायम गर्ने निर्णय भएको छ । शुक्रबार इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, जिल्ला प्रशासन सुनसरीका सिडिओ राजेश पौडेल, प्रमुख प्रशाशकीय अधिकृत कृष्णप्रसाद चापागाईँ, परियोजना प्रमुख बद्री प्रसाद शर्मा, वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र भट्टराई, वडा नम्बर ६ का वडाध्यक्ष दीपक गौतम, वडा नम्बर ९ का वडाध्यक्ष भुपेन्द्र बराललगायतको संयुक्त बैठकबाट उनीहरुको हस्ताक्षरसहित उक्त निर्णय गरिएको हो ।

बैठकले सडक क्षेत्रमा पर्ने सम्बन्धित व्यक्ति वा संस्थाको आफ्नो घर टहरा भत्काउन अन्तिम पटक १५ दिने म्यादको जानकारी गराई सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो । तोकिएको म्यादभित्र डिपिआर अनुसार ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको क्षेत्रमा रहेका सम्बन्धित व्यक्तिले आफ्नो संरचना नहटाए उपमहानगरपालिका लगायतका सम्बन्धित संस्थाले हटाउने व्यहोरा उल्लेख गरिने जनाइएको छ । सार्वजनिक सडक ऐन २०३१ बमोजिम नेपाल सरकारले ३४ सालमा राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सडकलाई ५० मिटर चौडा बनाउने निर्णय गरिएको हो ।

यो निर्णयसँगै अब सडक विस्तारसँगै दायाँ बायाँ थप संरचना भत्कने भएका छन् । सडक मापदण्डअनुसार खाली गराउने र नगराउने विषयमा ६ लेन सडक संघर्ष समितिका संयोजक स्थानीय युवा नेता मदन चूडाल, नवराज मैनाली, होमनाथ धमला लगायतका युवा समूहहरुले सडकको मापदण्ड अनुसार नै चौडा हुनुपर्ने भन्दै दबाब दिँदै आएका थिए ।

प्रतिनिधि सभा सदस्य रामकुमारी चौधरीले इटहरीमा सडक साँघुरो बनाएको बिषयमा सदनमा कुरा उठाएको ४ दिनपछि इटहरी उपमहानगरपालिका सहितको संयुक्त बैंठकले जोगवनी किंमाथाक्का सडक अन्तरगत इटहरीमा सडक केन्द्रबाट २५–२५ मिटर चौडा कायम गर्ने निर्णय गरेको हो ।

गत १३ गते रानी–बिराटनगर–इटहरी–धरान हुँदै किमाथांका जोड्ने सडक इटहरीमा ठाउँ फरकफरक मापदण्ड बनाइ सडक निर्माण कार्य गरेकोले सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।