विद्यालय बनाउन नेपथ्यले आज कन्सर्ट गर्दै
काठमाडौं – लोकप्रिय सांगितिक समूह नेपथ्यले आज काठमाडौंमा कन्सर्ट गर्दैछ । भूकम्पले क्षतिग्रस्त दोलखाको एक सरकारी विद्यालय भवन निर्माणका लागि सहयोगार्थ कन्सर्ट गर्न लागिएको आयोजक हेल्प नेपाल नेटवर्कले जनाएको छ ।
कार्यक्रमबाट संकलन हुने सम्पूर्ण रकम दोलखाको भिमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माणका लागि पठाइने ब्याण्ड व्यवस्थापक किरणकृष्ण श्रेष्ठले बताए ।
२०७२ सालको महाभूकम्पका बेला ब्याण्डले प्रधानमन्त्री राहत कोषमा विभिन्न कन्सर्टबाट संकलित झण्डै चालिस लाख रुपैयाँ सहयोग गरेको र अहिले पनि विद्यालय भवन निर्माणमा सहयोग गर्न लागिएको श्रेष्ठले जानकारी दिए ।
दोलखाको राजकुलेश्वर विद्यालय पुनर्निर्माण कार्यको २०७३ चैत १५ गते नै औपचारिक सुरुवात भए पनि अझै निर्माण सम्पन्न भएको छैन । यो विद्यालय भवन बनेपछि ३०० जना विद्यार्थीले भूकम्प प्रतिरोधी भवनमा पढ्ने अवसर पाउनेछन् ।
आधारभूत सुविधाहरु सम्पन्न विद्यालय भवन परम्परागत नेपाली ढाँचामा बन्दैछ । शिक्षाका लागि संगीत शीर्षक दिएर आज गर्न लागिएको नेपथ्यको कन्सर्ट साँझ ६ बजे भृकुटी मण्डपमा सुरु हुने आयोजकले जनाएको छ ।