पानीकै कारण क्यान्सर, ३० महिनामै २६ को मृत्यु
काठमाडौं–सर्लाहीको हरिवन नगरपालिका ५ का सिद्धार्थ टोल, धनपति टोल, गोले टोललगायत (साविक घुर्कौली गाविस) क्यान्सरपीडित गाउँमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले पानी परीक्षण सुरु गरेको छ ।
यसबारे समाचार प्रकाशन भएको भोलिपल्टै शनिबार बिहानै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सीडीई राजेश कुशवाह पानी परीक्षण घुम्ती टोली लिएर गाउँमा पुगेका हुन् ।
गाउँमा पानीका कारण क्यान्सर भएको समाचारबाट जानकारी पाएपछि इन्जिनियर र प्राविधिकसहितको टोली लिएर परीक्षण गर्न आएको कुशवाहाले बताए, सर्लाहीबाट श्रवण थापाले आजको नयाँ पत्रिकामा खबर लेखेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका ५ स्थित आधा दर्जन गाउँमा क्यान्सरको प्रकोप देखिएको छ । ती गाउँमा क्यान्सरका कारण ३० महिनामा २६ जनाको मृत्यु भइसकेको छ ।