युएसएआइडीले गर्‍यो विद्यालय र स्वास्थ्य सेवा केन्द्रको निर्माण

आइतबार, १८ फाल्गुन २०७६

काठमाडौं–२०७२ सालको भूकम्पमा सिन्धुली जिल्लामा क्षतिग्रस्त तीन विद्यालय र चार स्वास्थ्य सेवा भवनहरूको निर्माण सुरु गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले एक समारोहका बीच भूमि पूजनको आयोजना गरेको छ । यी नयाँ विद्यालय (दीर्घ प्रदीप माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालय) तथा स्वास्थ्य केन्द्रहरू (कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्र, महादेवस्थान स्वास्थ्य चौकी, बेलघारी प्राथमिक स्वास्थ्य केन्द्र र महेन्द्रझ्यादी प्राथमिक स्वास्थ्य केन्द्र) राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बद्ध स्थानीय सरकारी अधिकारीहरूसँगको साझेदारीमा युएसएआइडीको नेपाल पुनर्निर्माण इन्जिनियरिङ सहायता क्रियाकलापमार्फत् अमेरिकी जनताको सहयोगबाट पुनर्निर्मित हुनेछन् ।

यी नयाँ विद्यालय र स्वास्थ्यसेवा केन्द्रहरू १२ महिनामा तयार हुने अनुमान गरिएको छ । सञ्चालनमा आएसँगै यी सार्वजनिक संरचनाहरूले १,४०० भन्दा बढी विद्यार्थी र भावी पुस्तालाई आधुनिक शैक्षिक भवन उपलब्ध गराउनेछन् र जिल्लामा झन्डै १,१०,००० विशेषतः पिछडिएका र ग्रामीण समुदायका व्यक्तिहरूलाई आधुनिक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेछन् । यी नयाँ विद्यालय तथा स्वास्थ्यसेवा भवनहरू भूकम्पबाट अति प्रभावित सात जिल्लाहरूमा २९ वटा स्थायी विद्यालय र सात वटा स्वास्थ्य केन्द्रहरूको पुनर्निर्माण गर्ने अमेरिकी सरकारको एक वृहत् कार्यका हिस्सा हुन् ।