नेपाल सरकार गरिब परिवार खोज्दै
दाङ – दाङका दशै स्थानीय तहमा वास्तविक गरिब घर परिवारको पहिचान गरिन थालिएको छ । नेपाल सरकारले वास्तविक गरिब घर परिवारको पहिचान गरेर परिचय पत्र उपलब्ध गराउने उद्देश्यका साथ गरिब घर परिवारको पहिचान गर्न थालिएको हो ।
यसरी गरिबीको रेखामुनि रहेका नागरिकहरुको पहिचान गरेर सरकारले उनीहरुको जीवनस्तर माथि उकास्नेगरी कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
जिल्लाको दुई उपमनागरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा गरिब घरपरिवारको पहिचान तथा परिचय पत्र वितरणको लागि गणना हुन थालेको गरिबसँग विशेश्वर कार्यक्रमका जिल्ला संयोजक सुदीप गौतमले जानकारी दिए । दशै पालिकाले छनौट गरेका गणक तथा सुपरभाइजर परिचलान गरेर वास्तविक गरिब घर परिवारको पहिचान गर्न थालिएको हो ।
‘वास्तविक गरिबले परिचय पत्र पाउनुपर्छ । यही मान्यतालाई ध्यानमा राखेर काम अघि बढेको छ ।’ गौतमले भने, ‘परिचयपत्र पाउने व्यक्ति गरिब नै हुनुपर्छ । त्यही गरिब पहिचान गर्न तथ्यांक संकलन सुरु गरिएको हो ।’
९६ जना गणक र १४ जना सुपरभाइजर यो काममा खटिने छन् । पाँच महिना भित्र तथ्यांक संकलन गरिसक्ने योजना छ । सफ्टवेयर प्रविधिबाट तथ्यांक संकलन गरिने, अनलाइन मार्फत कम्प्यूटर प्रणालीबाट तथ्यांकको विश्लेषण गरिने छ । त्यसपछि भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयबाटै परिचय पत्र वास्तविक गरिब घर परिवारका सदस्यलाई प्रदान गरिने छ । विगतका दिनहरुमा धनी मानिसले समेत गरिबको परिचय पत्र बनाएर राज्यबाट सेवा सुविधा लिएको नमिठो उदहारण रहेको भन्दै यस पटक तथ्यांक संकलन वास्तविक हुनुपर्नेमा जोड दिइएको छ ।
देउखुरीका चार स्थानीय तहका गणक तथा सुपरभाइजरहरुलाई प्रदान गरिएको तालिमको शनिबार समापन गर्दै प्रदेशसभा सदस्य रेवतीरमण शर्माले समृद्ध र समाजवादको यात्राको लागी पनि लक्षित वर्गको जीवनस्तर अनिवार्य रुपमा उठ्नै पर्ने बताए ।