५ सयबढी शैक्षिक कन्सल्टेन्सीलाई भेला गर्दै ब्रिटिस काउन्सिल, UKVI का प्रतिनिधि पनि सहभागी हुने

मंगलबार, ६ असोज २०८३

काठमाडौं — ब्रिटिस काउन्सिल नेपालले बेलायतमा अध्ययन, विद्यार्थी भिसा र अन्तर्राष्ट्रिय विद्यार्थी भर्नासम्बन्धी पछिल्ला प्रावधानबारे जानकारी दिन नेपालका पाँच सयभन्दा बढी शैक्षिक कन्सल्टेन्सीलाई भेला गर्ने भएको छ। ब्रिटिस काउन्सिलले शैक्षिक परामर्श व्यवसायीहरूलाई पठाएको इमेलअनुसार काठमाडौं र इटहरीमा ‘ब्रिटिस काउन्सिल नेपाल एजेन्ट्स ब्रिफिङ सेमिनार–२०२६’ आयोजना गर्ने भएको हो ।

कार्यक्रममा नेपालभरबाट पाँच सयभन्दा बढी शैक्षिक एजेन्ट सहभागी हुने ब्रिटिस काउन्सिलले जनाएको छ। बेलायतको भिसा तथा अध्यागमन विभाग (UK Visas and Immigration–UKVI), ब्रिटिस युनिभर्सिटिज इन्टरनेसनल लायजन एसोसिएसन (BUILA) र ब्रिटिस काउन्सिलका प्रतिनिधिसमेत कार्यक्रममा सहभागी हुनेछन् । सेमिनारमा बेलायतको शिक्षा क्षेत्र, विद्यार्थी भिसाका पछिल्ला व्यवस्था तथा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नासम्बन्धी विकासक्रमबारे छलफल गरिनेछ।

भेलामा शैक्षिक एजेन्टले पालना गर्नुपर्ने गुणस्तरीय मापदण्डसम्बन्धी विषयलाई प्राथमिकता दिइने बताइएको छ। कार्यक्रममा मुख्यतः ‘एजेन्ट्स क्वालिटी फ्रेमवर्क’ (AQF), एजेन्ट तथा काउन्सिलर प्रशिक्षण केन्द्र, बेलायती विद्यार्थी भिसाका पछिल्ला अपडेट र संस्थागत अंग्रेजी समाधानसम्बन्धी विषयमा जानकारी दिइनेछ। ब्रिटिस काउन्सिलले यो कार्यक्रमबाट शैक्षिक एजेन्टहरूले बेलायतको परिवर्तित शैक्षिक परिवेश र भिसा प्रणालीबारे जानकारी प्राप्त गर्ने तथा नेपाली विद्यार्थीलाई उचित परामर्श दिन सहयोग पुग्ने दाबी गरेको छ। कार्यक्रमलाई शैक्षिक एजेन्ट, काउन्सिलर र बेलायती शिक्षा क्षेत्रका सरोकारवालाबीच सम्पर्क विस्तार गर्ने अवसरका रूपमा समेत प्रस्तुत गरिएको छ।

कार्यक्रममा सेप्टेम्बर २४, २०२६ मा झम्सिखेलस्थित ‘द प्लाजा’मा बिहान ११ः३० बजेदेखि सञ्चालन हुनेछ भने इटहरीको होटल रमाडामा सेप्टेम्बर २६ को बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । नेपालबाट बेलायत अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या बढेसँगै शैक्षिक परामर्शदाता संस्थाको भूमिका, एजेन्टको गुणस्तर, विद्यार्थीलाई दिइने सूचना र भिसासम्बन्धी परामर्शको विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला ब्रिटिस काउन्सिलले ठूलो सङ्ख्यामा एजेन्ट भेला गर्न लागेको हो ।

पछिल्लो समय नेपाली शैक्षिक कन्सल्टेन्सीहरु अन्तर्राष्ट्रिय ‘स्क्यामर’को प्रलोभनमा परेर चोरी गरिएका वा ह्याक गरेका डेविट, क्रेडिट कार्डबाट भिसा फिदेखि आइएचएसको शुल्क तिरेर विद्यार्थी र युकेभिआईलाई झुक्याइरहेको अवस्थामा हुन लागेको भेलालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

अन्तर्राष्ट्रिय ‘स्क्यामर’को फन्दामा नेपाली विद्यार्थी, धरापमा हजारौ विद्यार्थीको भिसा