रास्वपाको चुनावी हिसाबकिताबले राजनीतिमा खैलाबैला, गगनको निदहराम, रविलाई लाभैलाभ
काठमाडौं— नेपाली राजनीतिमा अहिले एउटा अनौठो दृश्य देखिएको छ। एकातिर, आफूलाई पुराना दलको विकल्प र नयाँ राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू चीन भ्रमणका क्रममा नेपाली कांग्रेसको नेतृत्व कसको हातमा हुनुपर्छ भनेर छलफल गरिरहेका छन्।
अर्कोतिर, कांग्रेसको आधिकारिकता विवादमा गगन थापालाई जोडेर १८ करोड रुपैयाँको आर्थिक लेनदेन भएको दाबी गरिएको अडियो सार्वजनिक हुन्छ।अडियोमा गगन थापामाथि गम्भीर आरोप लगाइन्छ। त्यसले उनको राजनीतिक नैतिकतामाथि प्रश्न उठाउँछ। कांग्रेसभित्रको शक्ति सङ्घर्ष थप चर्किन्छ।
तर, चीनमा रास्वपाका सांसदहरू के भनिरहेका छन् ? उनीहरू किन कांग्रेसको नेतृत्व शेरबहादुर देउवाको हातमा जाओस् भन्ने चाहन्छन् ? के देउवा पक्ष कांग्रेसमा बलियो हुँदा रास्वपालाई राजनीतिक लाभ हुन्छ ? अनि देउवाको स्वदेश फिर्ता, सम्पत्ति सुद्धिकरणको मुद्धा डिसमिस, गगन थापालाई विवादमा तान्ने अडियो र चीनमा सार्वजनिक भएको रास्वपाको संवादबीच कुनै राजनीतिक सम्बन्ध छ ?
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहेका रास्वपाका २० जना सांसद एउटा प्रविधि प्रदर्शनीमा पुग्छन्। त्यहाँ रोबोट हिँडिरहेको भिडियो खिचिन्छ। रास्वपा सांसद श्रीराम न्यौपानेले आफ्नो फेसबुकमा भिडियो पोस्ट गर्छन्। तर भिडियोमा रोबोटको दृश्यसँगै पछाडिबाट सांसदहरूको निजी राजनीतिक कुराकानी पनि रेकर्ड भएको हुन्छ।
त्यही कुराकानी सार्वजनिक भएपछि नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ । अडियोमा सुनिन्छ- ‘कांग्रेस देउवाको हातमा जानुपर्छ।’ अर्को आवाजले सर्वोच्च अदालतले पनि देउवाकै पक्षमा निर्णय गर्नुपर्ने आशय व्यक्त गर्छ। त्यसपछि केपी शर्मा ओली र एमाले नेता महेश बस्नेत अझ आक्रामक हुनुपर्ने, त्यसबाट रास्वपालाई चुनावी फाइदा पुग्ने आशयको संवाद सुनिन्छ।
अर्थात्, कांग्रेसको नेतृत्व देउवाको हातमा जाँदा र एमालेका नेताहरू थप आक्रामक हुँदा रास्वपालाई फाइदा हुने उनीहरूको राजनीतिक हिसाब देखिन्छ।
अब प्रश्न उठ्छ—रास्वपाका सांसदहरूलाई देउवा पक्ष नै किन अनुकूल देखियो ? यसको राजनीतिक पृष्ठभूमि बुझ्न जरुरी छ। गगन थापा कांग्रेसमा परिवर्तनको नारासहित अगाडि आएका नेता हुन्। पुरानो नेतृत्व, पुरानो कार्यशैली र पुराना राजनीतिक समीकरणको विकल्प खोजिरहेका कांग्रेस कार्यकर्ताको एउटा हिस्साले उनलाई नेतृत्वमा देख्न चाहेको छ।
तर देउवा नेपाली कांग्रेसको लामो समयदेखि प्रभावशाली शक्ति केन्द्र हुन्। उनको नेतृत्वसँग जोडिएको राजनीतिक पुस्ता र संगठनात्मक संरचना अझै प्रभावशाली छ। यदि कांग्रेस पुनः पुरानै नेतृत्वको राजनीतिक प्रभावमा फर्कियो भने परिवर्तनको नारासहित अगाडि आएको नयाँ नेतृत्व कमजोर हुन सक्छ। त्यसको असर कांग्रेसको आन्तरिक राजनीतिमा मात्रै सीमित रहँदैन।
नयाँ विकल्प खोजिरहेका मतदातामाझ कांग्रेसको आकर्षण, विपक्षी दलको भूमिका र आगामी चुनावी प्रतिस्पर्धामा पनि त्यसको प्रभाव पर्न सक्छ। रास्वपाका सांसदहरूको संवादले देखाएको एउटा सम्भावित राजनीतिक गणित यही हो—कांग्रेसभित्रको पुरानो र नयाँ नेतृत्वबीचको दूरी कायम रहँदा रास्वपालाई आफ्नो स्थान बलियो बनाउन सजिलो हुन सक्छ।
उक्त संवाद सुनेपछि दुईटा आशंकाहरु एकसाथ मुछरित भएका छन् । पहिलो देउवालाई हङ्कङबाट सत्ताकै आश्वासन र संरक्षणमा फिर्ता बोलाइएको र दोश्रो इनम सापकोटाको भनिएको १८ करोड वाला अडियो योजनाबद्ध रुपमा तयार पारेर सार्वजनिक गरिएको ।
इनम सापकोटाको वयान भनेर सार्वजनिक भएको अडियोमा नेपाली कांग्रेसको आधिकारिकता विवादमा गगन थापा नेतृत्वको पक्षलाई मान्यता दिलाउन १८ करोड रुपैयाँ खर्च भएको दाबी गरिएको छ। अडियोमा निर्वाचन आयोगदेखि न्यायिक क्षेत्रसम्म आर्थिक प्रभाव प्रयोग गरिएको आशयका संवादसमेत सुनिन्छन्।
यसमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नामसमेत जोडिएको छ। तर यो अडियो सार्वजनिक भएलगत्तै केही महत्त्वपूर्ण प्रश्न उठे।
के यो वास्तवमै इनम सापकोटाले प्रहरीसमक्ष दिएको आधिकारिक बयान हो ? कहिले र कहाँ रेकर्ड गरिएको हो ? अडियो सम्पादन गरिएको हो कि होइन ? यसमा सुनिएका सबै आवाज र संवादको सत्यता प्रमाणित भएको छ कि छैन ? यी प्रश्नको स्वतन्त्र पुष्टि अहिलेसम्म सार्वजनिक रूपमा भइसकेको छैन।
अझ महत्त्वपूर्ण कुरा—गगन थापाले आरोप अस्वीकार गरेका छन्। उनले आफूले कांग्रेसको आधिकारिकता प्राप्त गर्न एक रुपैयाँ पनि अनुचित लेनदेन नगरेको दाबी गर्दै अडियोमाथि निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्। यो अडियोले गगन थापा नेतृत्वको नैतिक आधारमाथि प्रश्न उठ्यो। कांग्रेसभित्रको विवाद थप पेचिलो बन्यो।
अर्कोतर्फ, देउवा पक्षले गगन नेतृत्वमाथि प्रश्न उठाउने राजनीतिक अवसर पायो। यस्तो अवस्थामा रास्वपाका सांसदहरू चीनमा देउवाकै पक्षले कांग्रेसको आधिकारिकता पाउनुपर्ने आशय व्यक्त गरिरहेको देखिनु संयोग मात्रै हो कि कुनै गहिरो राजनीतिक हिसाब ? यसमा गम्भीर आशंका पैदा गरेको छ ।
अर्को, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको दायरामा छन्। उनीहरू विदेशमा रहेका बेलामा नेपालमा पक्राउ पुर्जी जारी भएको थियो । सर्वोच्च अदालतको आदेशपछि पक्राउ पुर्जी निष्कृय भएपनि सम्पत्ति सुद्धिकरण अनुसन्धान आयोगले उनी हङ्कङ हुँदा इमेलमार्फत सम्पर्क गरेको थियो । देउवाको सचिवालयले त्यतिबेला अनुसन्धानमा सहयोग गर्ने र नेपाल फर्किने प्रतिबद्धता जनाउँदै पत्र पठाएको थियो । श्रोतका अनुसार देउवाले आफू २६ साउनमा नेपाल आउने र २८ साउनमा वयानका लागि उपस्थित हुने बताएका थिए ।
तर देउवा नेपाल फर्किएर राजनीतिमा सक्रिय भएको तीन महिना वितिसक्दा पनि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले वयान लिएको छैन । अब प्रश्न उठ्छ—कानुनी अनुसन्धानको दायरामा रहेका देउवाका विषयमा रास्वपाका सांसदहरू किन यति चासो राखिरहेका छन् ? उनीहरू किन कांग्रेसको नेतृत्व देउवाकै हातमा रहोस् भन्ने चाहन्छन् ?
किन भने देउवा पक्षलाई कांग्रेसको आधिकारिकता मिल्दा रास्वपालाई पुरानो राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्न सजिलो हुनेछ, गगन थापाको नेतृत्वमा कांग्रेस पुग्दा रवि लामिछानेको समकक्षी हुने र कडा प्रतिष्पर्धा हुने आँकलन छ ।
सार्वजनिक भएका दुईटा अडियो र देउवालाई उन्मुक्ति दिनुलाई रास्वपाको रणनीतिक चालको रुपमा बुझ्नुपर्छ । किनकी रास्वपाले आफूलाई पुराना दलको विकल्प भन्दै जनताको ठूलो समर्थन प्राप्त गरेको छ। रास्वपाका नेताहरुले आफ्नै काम र उपलब्धिबाट चुनाव जित्ने विश्वास गर्न छोडेका हुनछन् । अझै पनि पुराना दलहरूको आन्तरिक विवाद र कमजोरीबाट लाभ लिने र निर्वाचनमा विजय हासिल गर्ने उनीहरुको लक्ष्य हुन सक्छ । अर्कोतर्फ, कांग्रेसको आधिकारिकता विवाद, इनम सापकोटाको भनिएको १८ करोडको अडियो र देउवा पक्षलाई लिएर रास्वपा सांसदहरूको अभिव्यक्तिले कांग्रेसको आन्तरिक राजनीतिलाई थप पेचिलो बनाएको छ।
यदि सरकारले गगन नेतृत्वलाई कमजोर पार्ने आरोपको निष्पक्ष छानबिन हुँदैन, अडियोको स्रोत र सत्यता सार्वजनिक हुँदैन, अनि देउवामाथिको अनुसन्धान पनि निष्पक्ष र पारदर्शी हुँदैन भने राजनीतिक आशंका झन् बढ्नेछ। यसको मूल्य रास्वपा स्वयमले चुकाउनु पर्नेछ ।