इनम सापकोटा प्रकरण, प्रहरीले तयार पारेको मिसिलबाट बाहिरियो अकाट्य प्रमाण

बुधबार, २ मंसिर २०८३

काठमाडौं—३१ वर्षिया इनम सापकोटा, जो दुई वर्षअघिसम्म निजी विद्यालयमा मासिक ४० हजार रुपैयाँ तलब बुझेर विद्यार्थी पढाउँथे। तर आज उनकै एउटा बैंक खातामा एक वर्षभित्र ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको विवरण सार्वजनिक भएको छ।

कान्तिपुर दैनिकले सार्वजनिक गरेको बैंकिङ विवरणअनुसार इनम सापकोटाको एउटा बैंक खातामा एक वर्षको अवधिमा मात्रै ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको देखिएको छ। यो रकम जम्मा गर्नेहरूमध्ये सबैभन्दा अगाडि देखिन्छन्– कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ।

महेशले मात्रै सात पटकमा १ करोड ४२ लाख ५० हजार रुपैयाँ सापकोटाको खातामा जम्मा गरेको विवरण सार्वजनिक भएको छ। ठूलो रकम जम्मा भएको २४ घण्टाभित्रै त्यसलाई फरक–फरक कम्पनीको खातामा ‘ट्रान्सफर’ गरेको पाइएको छ । विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त ठूलो रकम सापकोटाले प्रिसाइज हेल्थकेयर टेक्नोलोजी प्रालि, इन्जिक बिल्डर्स प्रालि र हिमालयन फ्लोरा इन्टरप्राइजेज प्रालि नामक कम्पनीको खातामा ट्रान्सफर गरेका छन् । प्रहरीले गरेको सोधपुछमा सापकोटाले स्वास्थ्य उपकरण र स्किन केयरसम्बन्धी सामग्री आयात गर्न प्रिसाइज हेल्थकेयर टेक्नोलोजी प्रालि आफूले केही समयअघि खोलेको बताएका छन् ।

सापकोटाको खातामा दोस्रो धेरै रकम श्रीवृद्धि इन्भेस्टमेन्ट प्रालिबाट प्राप्त भएको छ । प्राइम कमर्सियल बैंकको चेकबाट ७ असोजमा उनको खातामा एक करोड रुपैयाँ उक्त कम्पनीले जम्मा गरेको छ । त्यो रकम सापकोटाले लगत्तै क्यापिटल म्याक्स सेक्युरिटी लिमिटेडको खातामा जम्मा गरिदिएका छन् । उमेश श्रेष्ठ अध्यक्ष रहेको जनमैत्री फाउन्डेसको खाताबाट समेत सापकोटालाई २० लाख रुपैयाँ गएको देखिन्छ । १५ भदौ २०८३ मा फाउन्डेसनको प्राइम कमर्सियल बैंकमा रहेको खाताको चेकमार्फत यो रकम जम्मा भएको थियो ।

रकम गएका सबै कम्पनी र सापकोटासँग कारोबारमा संलग्नहरूमाथि जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरिरहेको छ । सापकोटामाथि भइरहेको छानबिनमा सहयोगका लागि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीको नेतृत्वमा समिति बनाएरसमेत काम भइरहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल जाँचबाट खुलेको सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी, राजनीतिक पहुँच भएका व्यक्ति र थुनामा रहेका व्यापारीसम्म रहेका छन् ।

प्रहरीलाई दिएको बयानमा उनले चोलेन्द्रसँगको भेटघाट खुलाएका छन् । ‘मैले पढेको लिटिल एन्जल्स (एलए) स्कुलको अल्मुनाई मिटमा जाँदा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको छोरासँग भेट भएको थियो,’ प्रहरीले गरेको सोधपुछमा सापकोटाले दाबी गरेका छन्, ‘उहाँमार्फत नै पछि श्रीमान्सँग पनि भेट भयो र कुराकानी हुँदै गर्दा मलाई कांग्रेस नेताहरूसँग जोडिदिनुभएको थियो ।’

सापकोटाले आफूलाई कांग्रेस नेतासमेत रहेका पूर्वमन्त्री दीपक खड्काले सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टसँग भेट गराएको समेत दाबी गरेका छन् । तर, त्यो भेट कहाँ भएको थियो भन्ने पुष्टि भइसकेको छैन । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग समेत चिनजान भएको दाबी गरेका छन् । ‘उहाँले मलाई कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवासँग पनि भेट गराउनुभएको थियो,’ सापकोटाले भनेका छन् ।

पूर्वप्रधानन्यायाधीश जबराले आफूलाई प्रयोग गरेको दाबी गर्दै सापकोटाले सर्वोच्च अदालतका पाँच न्यायाधीशको नामसमेत लिएका छन् । उनले लिएका नामहरूको प्रहरीले बेग्लाबेग्लै भेरिफाइ गरिरहेको छ । सम्पत्ति सुद्धिकरणको अनुसन्धानका लागि कारागारमा रहेका विचौलिया दिपक भट्टलाई छुटाउन चलखेल गरेको पाइएपछि प्रहरीले चोलेन्द्रलाई पक्राउ गरेको थियो । चोलेन्द्रको मोवाइलमा इनमसँग संवाद भएको पाइएपछि प्रहरीले इनमलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा उच्च राजनीतिक नेतृत्वदेखि प्रहरी र न्यायालयसम्मै सेटिङ भएको पाइएपछि प्रहरीको अनुसन्धान पेचिलो बनेको छ । प्रहरीले शंकास्पद आर्थिक कारोबार विवरण भेटिएपछि कांग्रेस नेता उमेश श्रेष्ठमाथि पनि अनुसन्धान गरिरहेको छ । प्रहरी श्रोतका अनुसार उनलाई पनि आवश्यक परेका पक्राउ गरिनेछ ।