अन्तरवार्तामा सहभागी ९२ प्रतिशत नेपाली विद्यार्थीको बेलायतको भिसा रिजेक्सन, अतिरिक्त २ लाखसम्म खर्च गर्न बाध्य
काठमाडौं – बेलायतले विद्यार्थी भिसामा कडाई गरेको छ । विद्यार्थी भिसा कडाई गरी अन्तरवार्ता लिदा विश्वभरबाट सबैभन्दा धेरै नेपाली विद्यार्थीको भिसा अस्वीकृत भएको छ । अन्तर्वार्तामा बोलाइएका नेपाली विद्यार्थीमध्ये ९२ प्रतिशतको भिसा आवेदन अस्वीकृत भएको छ । बेलायतको भिसा तथा अध्यागमन कार्यालय (यूकेभीआई) को तथ्याङ्क उद्धृत गर्दै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रसम्बन्धी समाचार संस्था ‘द पीआईई’ ले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ को मेदेखि अक्टोबरसम्म अन्तर्वार्तामा सहभागी नेपाली विद्यार्थीमध्ये ९२ प्रतिशतलाई अविश्वसनीय ठहर गर्दै भिसा अस्वीकार गरिएको हो ।
उक्त ६ महिनाको अवधिमा यूकेभीआईले कुल ११ हजार ४१५ जना सम्भावित विद्यार्थीको अन्तर्वार्ता लिएको थियो । तीमध्ये ९ हजार ४३ जनालाई भिसा अधिकृतहरूले अध्ययनका लागि बेलायत जाने उद्देश्य विश्वसनीय नभएको निष्कर्ष निकालेका थिए । समग्रमा अन्तर्वार्तामा सहभागीमध्ये करिब ७९ प्रतिशत विद्यार्थीको आवेदन अस्वीकृत भएको छ । अन्तर्वार्तापछि भिसा अस्वीकृत हुनेमा नेपाली विद्यार्थी सबैभन्दा अगाडि देखिएका छन् । त्यसपछि भारतका ८९ प्रतिशत, नाइजेरियाका ८४ प्रतिशत, बंगलादेशका ७९ प्रतिशत, श्रीलंकाका ७९ प्रतिशत र पाकिस्तानका ७३ प्रतिशत विद्यार्थीको आवेदन अस्वीकृत भएको छ ।
यद्यपि, यूकेभीआईले यो तथ्याङ्क ६ महिनाको अवधिको मात्रै भएकाले यसलाई पूरै वर्षको अवस्थाको प्रतिनिधित्व गर्ने तथ्याङ्कका रूपमा लिन नहुने स्पष्ट पारेको छ । प्रतिवेदनमा केही देशका विद्यार्थीलाई अन्तर्वार्तामा बोलाउने दरसमेत उल्लेख्य बढेको देखिएको छ । सन् २०२५ को तुलनामा सन् २०२६ मा नाइजेरियाली विद्यार्थीलाई अन्तर्वार्तामा बोलाउने अनुपात ७ प्रतिशतबाट बढेर २१ प्रतिशत पुगेको छ ।
यूकेभीआईले आवेदनको बदलिँदो प्रवृत्ति र जोखिमको मूल्याङ्कनका आधारमा अन्तर्वार्ताको दर बढाइएको जनाएको छ । नाइजेरियाबाट आएका आवेदनमा थप जाँच आवश्यक देखिएकाले बढी विद्यार्थीलाई अन्तर्वार्तामा बोलाइएको उसको भनाइ छ । यूकेभीआईका अनुसार सन् २०२६ को मेदेखि अक्टोबरसम्म विश्वसनीयतासम्बन्धी आधारमा भिसा अस्वीकृत हुनुका प्रमुख कारणमा विद्यार्थीले रोजेको शैक्षिक संस्थाबारे पर्याप्त अनुसन्धान नगर्नु, बेलायतमै किन पढ्न चाहेको हो भन्ने स्पष्ट पार्न नसक्नु र छनोट गरेको संस्था तथा शैक्षिक कार्यक्रम भविष्यको योजनासँग कसरी मेल खान्छ भन्ने बताउन नसक्नु रहेका छन् ।
त्यस्तै, रोजेको विषय तथा अध्ययन कार्यक्रमबारे पर्याप्त जानकारी नहुनु, अंग्रेजी भाषाको क्षमता कमजोर हुनु र आर्थिक स्रोतको विश्वसनीयता पुष्टि गर्न नसक्नु पनि भिसा अस्वीकृतिका कारण रहेको प्रतिवेदनमा उल्लेख छ । अन्तर्वार्तामा सोधिएका प्रश्न र अस्वीकृतिका कारणमध्ये केही अस्वाभाविकसमेत रहेको ‘द पीआईई’ ले जनाएको छ । केही विद्यार्थीलाई आफूले रोजेको शैक्षिक संस्थाको परिसरमा कति वटा रूख छन् र नजिकैको बस बिसौनी कहाँ छ भन्ने जानकारी नभएको आधारमा समेत अविश्वसनीय ठहर गरिएको उदाहरण सार्वजनिक गरिएको छ ।
बेलायतको गृह मन्त्रालयअन्तर्गत काम, अध्ययन, परिवार तथा युक्रेन सेवा प्रमुख ओलिभर रेले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नासम्बन्धी सम्मेलनमा बोल्दै सरकारले विद्यार्थीको संख्या नियन्त्रण गर्न भिसा प्रक्रियामा कडाइ नगरेको बताएका छन् । ‘हामी बेलायतमा कति विद्यार्थी आएको देख्न चाहन्छौँ भन्नेमा कुनै सीमा छैन । तर वास्तविक विद्यार्थीमा हाम्रो विशेष ध्यान छ,’ उनले भने ।
रेले भिसा अन्तर्वार्ताको संख्या वर्षैपिच्छे घट्दै गएको पनि बताए । जोखिमको विस्तृत मूल्याङ्कन गर्ने र आवेदनका विशेष पक्षमा ध्यान दिने गरी भिसा अधिकृतहरूको क्षमता विकास गरिएकाले यस्तो भएको उनको भनाइ छ ।
भिसा अस्वीकृतिको जोखिम बढेपछि नेपाली विद्यार्थीमा महँगो प्राथमिकता सेवाको आकर्षण
बेलायतले विद्यार्थी भिसा प्रक्रियामा कडाइ गरेसँगै नेपालबाट विद्यार्थी भिसा आवेदन गर्ने क्रममा छिटो निर्णय प्राप्त गर्न अतिरिक्त शुल्क तिरेर Priority र Super Priority सेवा लिने विद्यार्थीको संख्या बढेको छ । विशेषगरी विश्वविद्यालयमा भर्ना हुने समय नजिकिएका, कक्षा सुरु हुने मिति आइपुग्न लागेका र भिसा निर्णयमा ढिलाइ हुँदा अध्ययन नै छुट्ने जोखिम भएका विद्यार्थीले यी सेवा रोज्ने गरेका छन् ।
बेलायतको भिसा तथा अध्यागमन कार्यालय (यूकेभीआई) ले विद्यार्थी भिसाका लागि नियमित सेवाबाहेक दुई प्रकारका छिटो निर्णय दिने सेवा उपलब्ध गराउँदै आएको छ । Priority Visa Service र Super Priority Visa Service नामका यी सेवामा विद्यार्थीले नियमित भिसा आवेदन शुल्कबाहेक अतिरिक्त रकम तिर्नुपर्छ ।
यूकेभीआईको आधिकारिक शुल्क विवरणअनुसार Priority सेवाका लागि थप ५०० पाउन्ड अर्थात् नेपाली रुपैयाँ करिब १ लाख ४ हजार ६५४ र Super Priority सेवाका लागि थप १ हजार पाउन्ड अर्थात् करिब २ लाख ९ हजार ३०७ रुपैयाँ शुल्क लाग्छ । यी रकम नियमित विद्यार्थी भिसा आवेदन शुल्कबाहेक तिर्नुपर्ने अतिरिक्त शुल्क हुन् ।
Priority सेवा लिने विद्यार्थीले सामान्यतया पाँच कार्यदिनभित्र भिसाको निर्णय प्राप्त गर्न सक्छन् । त्यस्तै, Super Priority सेवा लिनेले सामान्यतया अर्को कार्यदिनको अन्त्यसम्म निर्णय प्राप्त गर्ने व्यवस्था छ । नेपाली विद्यार्थीहरुले अन्तरवार्ता छल्नका लागि Priority र Super Priority भिसा एप्लाई गर्ने गरेका छन् । Priority र Super Priority मा विद्यार्थीले भिसा एप्लाई गर्दा भिसा अफिसरलाई समय अपुग हुने विश्वासका आधारमा भिसा एप्लाई गर्ने गरिएको छ ।
यसरी छिटो भिसा निर्णयका लागि मात्रै नियमित शुल्कभन्दा थप ५०० देखि १ हजार पाउन्डसम्म खर्च गर्नुपर्ने भएपछि नेपाली विद्यार्थी र अभिभावकमाथि आर्थिक भार बढेको छ । कतिपय विद्यार्थीले समयमै भिसा निर्णय नआउने डरले अतिरिक्त शुल्क तिर्ने गरेका छन् भने शैक्षिक परामर्श व्यवसायमा समेत प्राथमिकता सेवाको प्रयोग बढ्दै गएको छ ।