निरन्तर किन घटिरहेको सुनको भाउ, अझै कति घट्ला, फेरि कहिलेदेखि बढ्ला ? यस्ता छन् अन्तराष्ट्रिय बजारदेखि नेपालसम्म सुन घट्नुका पाँच कारण..
काठमाडौं–केही महिना अघिसम्म हरेक दिन कीर्तिमानी बनाइरहेको सुन अहिले लगातार घटिरहेको छ । नेपाली बजारमा बिहीबार ३३ सयले घटेर प्रतितोला २ लाख ५७ हजार ६ सयमा कारोबार भइरहेको छ । तिहारपछि बजार खुलेयता छैटौ कारोबार दिनमै सुन तोलामा २४ हजार ३ सय हजार रूपैयाँले सस्तिएको छ।
गत वर्ष माघ १५ गते सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३०० रूपैयाँ पुगेको थियो। यो अहिलेसम्मकै उच्च मूल्य हो। त्यसयता सुन तोलामा ८१ हजार ७०० रूपैयाँले घटिसकेको छ। सुनको मूल्य नेपालमा मात्र घटेको छैन, विश्वभर सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य लगातार ओरालो लाग्दै गर्दा संसारभर तीन विषयमा वहस सुरु भएको छ । पहिलो सुनको महत्व घट्न थालेको हो ? मूल्य घट्ने क्रम कहिलेसम्म जारी रहन्छ वा कहिलेदेखि बढ्न थाल्छ ? र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूका पछिल्ला प्रक्षेपणले तत्कालको अवस्था र आगामी वर्षको सम्भावनाबारे के भन्छन् ?
किन घट्यो सुन ?
सुन घट्नुको पहिलो कारण हो, अमेरिकी डलर बलियो हुनु । सुनको अन्तर्राष्ट्रिय कारोबार अमेरिकी डलरमा हुन्छ। त्यसैले डलर बलियो हुँदा अन्य देशका लगानीकर्ताका लागि सुन किन्न महँगो पर्छ। डलरको तुलनामा आफ्नो देशको मुद्रा कमजोर भएको अवस्थामा उही परिमाणको सुन किन्न उनीहरूले बढी पैसा खर्च गर्नुपर्छ। यसले सुनको माग घटाउन सक्छ। अहिले अमेरिकी डलर करिब १९ महिनायताकै बलियो स्तरमा पुगेको छ।
दोश्रो हो अमेरिकामा ब्याजदर बढ्ने सम्भावना । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउन सक्ने संकेत दिएको छ। ब्याज दिने बैंक निक्षेप र सरकारी बन्डको आकर्षण बढ्दा ब्याज नदिने सुनमा लगानी गर्ने रुचि घट्न सक्छ । त्यसैले लगानीकर्ताले सुन बेचेर अन्य क्षेत्रमा पैसा लगाउन थालेका छन्।
तेश्रो हो, अमेरिकी सरकारी बन्डको प्रतिफल बढ्नु । अमेरिकी ट्रेजरी बन्डको प्रतिफल बढ्दा लगानीकर्ताले सुनभन्दा बन्डलाई प्राथमिकता दिन सक्छन्। सुनबाट नियमित ब्याज वा प्रतिफल प्राप्त हुँदैन। तर सरकारी बन्डबाट निश्चित प्रतिफल पाइने भएकाले लगानीकर्ताको पैसा सुनबाट अन्य वित्तीय उपकरणतर्फ सर्न सक्छ।
चौथो, युद्ध र राजनीतिक तनावबाट उत्पन्न सुरक्षित लगानीको माग कमजोर हुनु । विश्वमा युद्ध, राजनीतिक संकट र आर्थिक अनिश्चितता बढ्दा लगानीकर्ताले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा किन्ने गर्छन्। तर तत्काल सुनको माग बढाउने नयाँ भूराजनीतिक तनाव नदेखिँदा सुरक्षित लगानीका रूपमा सुनको आकर्षण कमजोर भएको विश्लेषण छ।
पाँचौ, लगानीकर्ताले नाफा सुरक्षित गर्न सुन बेच्नु । सुनको मूल्य ऐतिहासिक उच्च बिन्दुमा पुगेपछि धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न सुन बिक्री गरेका छन्। यसले बजारमा बिक्रीको चाप बढाएको छ। नेपालको हकमा अर्को महत्वपूर्ण कारण डलरको विनिमय दर हो। सुन आयात गर्दा डलरमा भुक्तानी गर्नुपर्ने भएकाले डलर नेपाली रुपैयाँको तुलनामा कमजोर हुँदा आयात लागत घट्छ। यसले नेपाली बजारमा सुनको मूल्य थप घटाउन सक्छ।
अझै घट्न सक्छ ?
अहिलेको गिरावटलाई सुनको मूल्यको अन्तिम तल्लो बिन्दु मान्न सकिँदैन। अमेरिकामा ब्याजदर बढ्ने अपेक्षा कायम रहेमा, डलर थप बलियो भएमा वा लगानीकर्ताले नगद जुटाउन सुन बेचिरहेमा मूल्य अझै घट्न सक्छ। प्राविधिक विश्लेषणले पनि तत्काल सावधानी अपनाउनुपर्ने संकेत दिएको छ।
बेलायतस्थित वित्तीय कारोबार तथा बजार विश्लेषण गर्ने कम्पनी सुक्डेन फाइनान्सियलले चौथो त्रैमासको विश्लेषणमा प्रतिऔंस ३९०० डलरलाई सुनको मूल्यका लागि महत्त्वपूर्ण आधार मानेको थियो। तर नोभेम्बर १८ मा मूल्य त्योभन्दा तल झरिसकेको छ। यसले बजारमा बिक्रीको चाप बढ्दा विश्लेषकले महत्त्वपूर्ण मानेको मूल्य पनि भत्किन सक्छ भन्ने देखाउँछ। त्यसैले ३९०० डलरलाई अब सुनको मूल्य घट्नै नसक्ने अन्तिम सीमा मान्न मिल्दैन।
सुक्डेनले यसअघि डिसेम्बरसम्म सुनको मूल्यमा दबाब रहे पनि त्यसपछि सम्हालिएर सन् २०२७ को मध्य जनवरीसम्म प्रतिऔंस ४२०० देखि ४३०० डलरसम्म पुग्न सक्ने अनुमान गरेको थियो। तर ३९०० डलरको स्तर भत्किसकेकाले यो पुरानो अनुमान पूरा हुन्छ नै भन्न सकिँदैन।
फेरि कहिलेदेखि बढ्न सक्छ ?
अन्तर्राष्ट्रिय संस्थाहरूका प्रक्षेपणले तत्काल सुनको मूल्यमा दबाब रहे पनि आगामी वर्ष सुधार आउन सक्ने सम्भावना देखाएका छन्। तर उनीहरूका अनुमान फरक छन्। अमेरिकाको ठूलो लगानी बैंक तथा वित्तीय सेवा कम्पनी गोल्डम्यान स्याक्सले सन् २०२६ अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस ४६५० डलर पुग्ने पुरानो अनुमान घटाएर ४१५० डलरमा झारेको छ। सन् २०२७ अन्त्यसम्मको अनुमान पनि ५४०० डलरबाट घटाएर ४८०० डलर बनाएको छ।
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने र उच्च ब्याजदर लामो समय कायम राख्ने सम्भावनाले आगामी तीनदेखि ६ महिनासम्म सुनको मूल्यमा दबाब रहन सक्ने उसको विश्लेषण छ।
नेपालको बजारमा कति घट्न सक्छ ?
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपालमा पनि सामान्यतया घट्छ। तर दुवै बजारमा मूल्य समान अनुपातले घट्दैन। नेपालमा सुनको भाउ निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर, आयातमा लाग्ने कर र अन्य लागत पनि जोडिन्छन्।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंसमा तोकिन्छ। एक ट्रोय औंसमा ३१.१०३५ ग्राम सुन हुन्छ भने एक तोलामा करिब ११.६६३८ ग्राम। त्यसैले अन्तर्राष्ट्रिय मूल्यलाई डलर–नेपाली रूपैयाँ विनिमय दर अनुसार रूपान्तरण गरी एक तोलाको मूल्य निकालिन्छ। त्यसपछि आयातमा लाग्ने कर र अन्य लागत जोडिन्छन्।
यस कारण अन्तर्राष्ट्रिय बजारमा सुन सस्तिए पनि डलरको भाउ बढेमा नेपालमा मूल्य घट्ने दर कम हुन सक्छ। डलर कमजोर भएमा भने अन्तर्राष्ट्रिय मूल्य घटेको असर नेपाली बजारमा बढी देखिन सक्छ। बिहेको मौसम र चाडपर्वमा गहना किन्ने मागले पनि स्थानीय बजारको कारोबारमा असर पार्न सक्छ।
मूल्य घटेपछि ग्राहकले खरिद बढाउन सक्छन् भने अझै घट्ने आशामा केहीले किन्ने निर्णय पछि सार्न सक्छन्। अन्ततः सुनको मूल्य फेरि बढ्ने ठ्याक्कै समय भन्न सकिँदैन। तत्कालका लागि अमेरिकी ब्याजदर, डलरको अवस्था र लगानीकर्ताको व्यवहारले मूल्यको दिशा निर्धारण गर्नेछन्। मध्यम तथा दीर्घकालमा भने केन्द्रीय बैंकको खरिद, भूराजनीतिक जोखिम र विश्व अर्थतन्त्रप्रतिको अनिश्चितता महत्त्वपूर्ण रहनेछन्।